.

अख्तियारको ३३ औँ स्थापना दिवस ः भ्रष्टाचारको प्रभावकारी र पारदर्शी अनुसन्धानमा चुनौती

विराटनगर , २८ माघ । सुधारौँ सोच, संस्कार र व्यवहार ः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोबारे अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रुपमा आयोगको स्थापना भएको हो ।
आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरुको भनाइ छ । देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ ।
यसै बिच राष्ट्रपति रामचन्द्र पौडेलले साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरुलाई कानुनको दायरामा ल्याउन सुझाव दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा भएको
कार्यक्रममा उहाँले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा आग्रह, पूर्वाग्रहरहित भएको सन्देश दिनुपर्ने बताउनु भयो । महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् पक्ष भएको समेत उहाले बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढीकरणका लागि संवैधानिक आयोगले राज्यका अन्य अंगहरुलाई बेलाबखत परामर्श तथा सुझाव दिइरहनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याइरहेको बताउनुभएको छ ।
उहाँले विभिन्न कालखण्डमा भएका सबै साना–ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले सरकारी जग्गा हडप्ने, व्यक्तिगत नाममा कायम गर्नेहरुलाई छानबिन अनुसन्धान गरिरहेको तथा क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको बताउनु भयो ।
सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसङ्गति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दाबी गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया