विराटनगर ,२७ चैत्र । विराटनगर महानगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि वडामा रहेका जेष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझिरहेका छन् ।
स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरूले जेष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बझिरहेका हुन् ।
८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले स्वास्थ्य परीक्षणसहित औषधी, पौष्टिक आहार, स्वास्थ्य सामग्री लगायतका सामानहरू पनि वितरण गरिरहेको छ ।
वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरी १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम गरिएको वडाध्यक्ष राम पोखरेलले बताए । जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधी, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताए । विराटनगर–८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रूपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनको भनाई छ ।