.

साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम

 विराटनगर,२२ साउन ।  विराटनगरमा पनि साउनको चौथो सोमबार विराटनगरको शिव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको विहानै देखी घुइँचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण विराटनगरमा विहानै देखी घुइचो लागेको हो ।

धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा पनि  बिहानैदेखि  जल चढाउन भक्तजनहरु को घुईचो लागेको छ। साउन महिनामा पिण्डेश्वरमा बोलबम मेला नै लाग्ने गर्छ ।

नेपालको पुर्वदेखि सुदुरपश्चिमका जिल्लाहरुबाट पनि बोलबममा भक्तजनहरु साउनमा पिण्डेश्वरमा जल चढाउन आउछन् । चितवन, सुर्खेत, कैलालीलगायत जिल्लाहरुबाट भक्तजनहरु सयौंको संख्यामा पिण्डेश्वरमा आएका थिए ।

हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको साउनको सोमबार प्रिय बार मानिन्छ । चतरास्थित कोशीको शुद्ध पानी ल्याएर बेलको पातसहित पिण्डेश्वरमा चढाउने चलन पनि  छ । यसले मनोकामना पुरा हुने जनविश्वास छ ।

यसपाली साउनमा मलमास परेको कारण पहिलो सोमबार नै टाढा टाढाबाट धेरै भक्तजनहरु आएको अनुमान छ । मलमासमा देवताको पुजाआराधाना भएपनि बिशेष पुजा भने गरिदैन । पहिलो सोमबार चै मलमास नभएकोले धेरै भक्तजन आएका छन् ।

धार्मिक रूपमा यस महिनालाई भगवान् शिवजीको प्रिय महिना पनि मानिन्छ । श्रावण महिनालाई पवित्र महिनाका रूपमा मानिने र धेरैले यस महिना भरी सात्त्विक शुद्ध खाना खाने तथा सोमबार व्रत बस्ने गर्दछन् । यसैगरी श्रावण महिना हरियालीको महिना पनि हो । साउन महिनाबाट नेपाली चाडपर्वहरूको सुरुवात हुने गर्दछ।

यसैगरि 
सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि  पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ ।

साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । 

साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । 

सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए । बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ । 

बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतबार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए । बिहान सबेरै स्नान गरी शुद्ध जल लिएर आएका भक्तजनले अहिले जल अर्पण गरिरहेका छन् । 

सोमबार बेलुकी भक्तजनको लाम रहेसम्म चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिने कोषले जनाएको छ । यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्म शास्त्रीबीच मतान्तर रहेको छ । 

प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्ने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिने धार्मिक विश्वास रहेको छ । 

यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका ठूला, साना शिवालयमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया