विराटनगर,२३ साउन । देशका विभिन्न नदीले जल सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गएरातिबाट भारी वर्षा हुँदा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, मनोहरा, हनुमन्ते लगायतका खोलाको जलसतह उच्च रहेकाले नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता महाशाखाले सूचित गरेको छ।नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका कपन, सामाखुसी राधेराधे लगायतका कतिपय स्थानमा सडक, घर र पसलमा बाढी पसेको छ। काभ्रेको पुतलीबजार पनि डुबानमा परेको छ।
यसैगरी बाढी पूर्वानुमान महाशाखाले बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र बढ्दो रहेको, बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरू दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।