विराटनगर महानगरपालिकाले महानगरमा खगोल तथा अन्तरिक्ष विज्ञान विषयको
अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति महिला, बालबालिका तथा समाज
कल्याण शाखा अन्तर्गत ११ सदस्यीय खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन
अनुसन्धान समिति गठन गरेको छ।
उक्त
समितिका निर्माणका निम्ति विगत केही वर्षदेखि पहल गर्दै आएका तथा यस
समितिका मनोनित सदस्य ओशन शर्मा कट्टेलका अनुसार, "विषय विज्ञ, विद्यार्थी,
बालबालिका, युवा र सरोकारवाला निकायका प्रतिनिधिहरूलाई समावेश गरी गठन
भएको यस समितिले विराटनगर महानगरमा खगोल तथा अन्तरिक्ष विज्ञानको
प्रवर्द्धनका साथसाथै समग्र वैज्ञानिक समाजको विकासमा नै विशेष भूमिका
निर्वाह गर्ने छ।"
नेपालमा
सन् २००७ देखि यसै क्षेत्रमा कार्यरत संस्था नेपाल एस्ट्रोनोमिकल
सोसाईटीका अध्यक्ष श्री सुरेश भट्टराई र परियोजना संयोजक श्री मनिषा द्वाको
उपस्थितिमा गठन भएको यो समिति नेपालको स्थानीयतहमा यस प्रकारकाे पहिलो
समिति गठन भएको हो।
" यस
क्षेत्रमा लामो समयको नेपाल एष्ट्रोनोमिकल सोसाइटीको दीर्घकालीन सोच सहितको
लगानी पहिलो चरणमा सार्थक भएको महसुस गरेको छु। समितिमा मसँग सन् २०१६
देखी प्रत्यक्ष सम्पर्कमा रहनुहुने खगोल तथा अन्तरिक्ष प्रेमी कर्मठ
व्यक्तिहरू मनोनीत हुनुभएकोमा यो समितिले दीर्घकालीन योजना बनाई काम गर्न
सक्षम हुनेछ भन्नेमा विश्वस्त छु।"
सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् ।
विराटनगर
महानगरपलिकाको नगर बालक्लब सञ्जालका पूर्व सचिवहरू ओशन शर्मा कट्टेल, उदिप
पोख्रेल र सुवर्ण प्याकुरेलले नेपाल एस्ट्रोनोमिकल सोसाईटीद्वारा सन् २०२०
को नोबेम्बर - डिसेम्बरमा आयोजना भएको 'अल नेपाल एस्टेरोइड सर्च
क्याम्पेनमा' Mt. Dhaulagiri I समूहबाट 2020 WX9 छुद्र ग्रह पत्ता लगाएका
थिए । त्यसैगरी ओशन शर्मा कट्टेलको सामूहिक प्रयोग 'क्युबस ईन स्पेस नासो
२०२१' कार्यक्रम अन्तर्गत अमेरिकी अन्तरिक्ष संस्था नासाको रकेटमार्फत सन्
२०२१ को जुनमा अन्तरिक्षमा गएर फर्केको थियो।
महानगरको
नगर बालक्लब सञ्जालका पदाधिकारी तथा पूर्व सदस्यहरूले खगोल तथा अन्तरिक्ष
विज्ञानको क्षेत्रमा हात पारेको सफलता तथा महानगर भरिका विद्यार्थीहरूको
रुचिलाई मध्यनजर गर्दै सन् २०२१ को अक्टोबरमा विराटनगर महानगरपालीकाले ८
इन्चको डोब्सनियन टेलिस्कोप खरिद गरी सञ्जाललाई उपलब्ध गराएको थियो । यसले
महानगरमा बालबालिका, युवा, विद्यार्थी तथा आम जनमानस बीच खगोल तथा
अन्तरिक्ष विज्ञानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
महानगरभित्र
यस क्षेत्रमा भएको काम तथा प्रगातिलाई संस्थागत गर्न सञ्जालले महानगरको
अपनत्वतामा यस विज्ञानको प्रवर्द्धन हुनुपर्ने कुरालाई जोड दिँदै आएको
थियो। सञ्जालको यस मागलाई सम्बोधन गर्दै खगोल तथा अन्तरिक्ष विज्ञान विषयको
अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति विराटनगर महानगरपालिकाले
कार्यपालिकाको बैठकबाट पारित गर्दै महिला, बालबालिका तथा समाज कल्याण शाखा
अन्तर्गत 'खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति' गठन गरेको
छ।
जेष्ठ ८ गते महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका खगोल शास्त्र
विषयका शिक्षक श्री प्रविण कुमार विश्वासको अध्यक्षतामा गठन भएको हो। विषय
विज्ञको अध्यक्षतामा गठित यस समितिको सदस्यमा नगर बालक्लब सञ्जालका
बहालवाला समितिबाट आदित्य झा, दिक्षा आचार्य र बेदिका घिमिरे रहेका छन् ।
त्यसै गरी खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि अध्ययन गर्ने विद्यार्थी
तथा पूर्व बालक्लब सदस्यबाट पूर्व अध्यक्ष प्रितम शाह तथा पूर्व सचिवहरू
ओशन शर्मा कट्टेल, उदिप पोख्रेल र सुवर्ण प्याकुरेल रहेका छन्। उक्त
समितिमा महिला, बालबालिका तथा समाज कल्याण शाखाबाट सदस्य सचिवको रूपमा एक
जना प्रतिनिधि रहने व्यवस्था छ भने महानगरले खरिद गरेको टेलिस्कोप राखिएको
बालमैत्री स्थानिय शासन अध्ययन केन्द्र (पहिलेकाे बाल उद्यान) मा कार्यरत
कर्मचारी सदस्य रहने व्यवस्था छ। त्यसै गरी बालमैत्री स्थानिय शासन अध्ययन
केन्द्र अवस्थित रहेकाे वडा १ काे वडा कार्यालयको एक जना प्रतिनिधि गरी
जम्मा ११ जना सदस्यको समिति गठन भएको हो।