साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फा विश्वकप २०२६को फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टास्थित स्टेडियममा बिहीबार विहान भएको सेमिफाइनलमा कप्तान लियोनल मेसीले दुई निर्णायक असिस्ट गर्दै टोलीलाई लगातार दोस्रो पटक उपाधि नजिक पुर्याएका हुन्।
खेलमा सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो। ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाएका थिए।
तर, खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्यो। ८५औँ मिनेटमा मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै उत्कृष्ट पासलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।
यससँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। यसअघि २०२२ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो। अब अर्जेन्टिनाले उपाधिका लागि सोमबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गरेसँगै कप्तान लियोनल मेसी विश्वकपको गोल्डेन बुट दौडमा पनि शीर्ष स्थानमा पुगेका छन्। हालसम्म प्रतियोगितामा मेसीले ८ गोल र ४ असिस्ट गरेका छन्। समान ८ गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पेको असिस्ट संख्या भने ३ छ ।
मेसीले विश्वकपमा अहिलेसम्म सर्वाधिक ३३ खेलमा २१ गोल र ११ असिस्ट गरेका छन्। यता २६ वर्षीय एम्बाप्पेले विश्वकपमा २० गोल पूरा गरेका छन्।
फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि अब तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग खेल्नेछ। प्रतियोगिताबाट बाहिरिसकेका नर्वेका एर्लिङ हालान्डले ७ गोल गरेका छन्। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बुट’ व्यक्तिगत अवार्डका लागि मेसी र एम्बाप्पेबीच कडा प्रतिस्पर्धा छ। २०२२ को विश्वकपमा भने एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।