.

मधुवा रोगले आँप उत्पादनमा ह्रास आउन सक्ने

मधेश प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको  र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने  निर्देशनालयले जनाएको हो । 

यस वर्ष मधेश प्रदेशमा आँपका रुखमा मजर अर्थात् फूल अत्यधिक लागेको थियो तर मधुवा रोगले समस्या उत्पन्न भएको हो । निर्देशनालयका अनुसार  प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो । तर रोगले गर्दा अनुमान अनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले बताउनुभयो ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार यस वर्ष मधेश प्रदेशका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन् । मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।

मधेश प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । 

मधेशमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली र दशहरी  नकुअवा, केरवा, विजु, सिपिया लगायतका आँप खेती गरिएको छ । 

नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिकटन आँप नेपाल भित्रिएको थियो  । जसको मूल्य करिब दुई करोड १५ लाख रूपैयाँ बराबर रहेको छ । 

हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया