.

जंगलमा तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्व मेयर मृत अवस्थामा फेला

तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगेस्थित जंगलमा मृत अवस्थामा फेला परेका छन्। ६५ वर्षीय सिंह शुक्रबारदेखि तिलौराकोट तथा गोरुसिंगे जंगल क्षेत्रबाट हराइरहेका थिए।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। घरबाट निस्किएको डेढ घण्टაपछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिर्सिएँ भनी जानकारी गराएका थिए।
त्यसपश्चात् परिवारका सदस्य, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उनको खोजी तीव्र पारेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।
पूर्वमेयर सिंहको खोजी कार्यका लागि नेपाल प्रहरी, स्थानीयवासीका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। निरन्तरको खोजी अभियानपछि आइतबार उनको शव जंगल क्षेत्रमै भेटिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले पुष्टि गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया