.

पूर्वी सीमामा नेपाल–भारत सीमा स्तम्भ पुनर्निर्माण

नेपाल–भारत पूर्वी सीमामा रहेका जीर्ण तथा क्षतिग्रस्त सीमा स्तम्भको पुनर्निर्माण, मर्मत तथा संरक्षण भइरहेको छ ।

पछिल्ला तीन महिनाको अवधिमा झापा क्षेत्रमा दुई वटा सीमा स्तम्भ पुनर्निर्माण गरिनुका साथै सीमासम्बन्धी प्राविधिक कार्यको प्रगति समीक्षा गर्न नेपाल र भारतका अधिकारीहरूबीच संयुक्त बैठक सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बलका अनुसार काँकरभिट्टादेखि उत्तरतर्फ रहेको ८६–३ नम्बरको जीर्ण सीमा स्तम्भ भारतीय पक्षले पुनर्निर्माण गरेको छ भने ८८–८९–४३० नम्बरको सीमा स्तम्भ नेपाली पक्षले पुनर्निर्माण गरेको हो। सीमामा रहेका स्तम्भहरूको अवस्था मूल्याङ्कन गर्दै दुवै देशले संयुक्त समझदारीमा मर्मत, पुनःस्थापना तथा पुनर्निर्माणको काम निरन्तर अगाडि बढाइरहेका छन्।

पाँच दिनअघि झापाको बिर्तामोडमा नेपाल र भारतका सम्बन्धित निकायका अधिकारीहरूको संयुक्त बैठक बसेको थियो। बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमाक्षेत्रका सीमा स्तम्भहरूको अवस्था, मर्मत कार्यको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो।

बैठकमा सीमाक्षेत्रमा खटिएका संयुक्त प्राविधिक टोलीहरूले पछिल्लो तीन महिनामा सम्पन्न गरेका निर्माण तथा मर्मतसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनका आधारमा आगामी चरणका कामहरूको कार्यतालिका तय गरिएको छ।

नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवका अनुसार सीमा स्तम्भको संरक्षण, मर्मत र पुनर्निर्माणको अवस्थाबारे समीक्षा गर्न नेपाल र भारतका अधिकारीहरूबीच नियमित रूपमा संयुक्त बैठक बस्ने गरेको छ। उनले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्राविधिक तहको सहकार्यलाई निरन्तरता दिइएको बताए।

पूर्वी सीमामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन अभियान करिब तीन वर्षअघि सुरु गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बराह बाहिनी मुख्यालय सुनसरीको नेतृत्वमा झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट उक्त अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत झापा, मोरङ र सुनसरीमा पर्ने बिजोर नम्बरका सीमा स्तम्भको मर्मत, संरक्षण र रंगरोगनको जिम्मेवारी नेपाली पक्षले लिएको छ भने जोर नम्बरका सीमा स्तम्भको व्यवस्थापन तथा मर्मतको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गर्दै आएको छ।

तथ्यांकअनुसार झापामा साना, मझौला र ठूला गरी ३१७ वटा सीमा स्तम्भ मर्मत तथा रंगरोगन गर्नुपर्ने अवस्थामा छन्। मोरङमा ३४ र सुनसरीमा १३३ वटा सीमा स्तम्भ संरक्षणको आवश्यकता रहेको छ। यसअनुसार कोशी प्रदेशका तीन जिल्लामा मात्रै ४८४ वटा सीमा स्तम्भ मर्मतसम्भार गर्नुपर्ने देखिएको छ।

नेपाल–भारत सीमामा हाल कुल ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेका छन्। तीमध्ये पछिल्ला छ वर्षमा ३ हजार ७ सय ३३ वटा सीमा स्तम्भ निर्माण तथा मर्मत गरिएको सम्बन्धित निकायले जनाएको छ। सीमा स्तम्भमध्ये २ हजार १ सय ५ वटा नदी क्षेत्रमा र ३१ वटा नदी किनार क्षेत्रमा अवस्थित छन्।

नेपाल र भारतले सीमा स्तम्भ निर्माण तथा संरक्षणका लागि सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन्। सन् १९१८ देखि २००७ सम्म नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको सीमांकन र नक्साका आधारमा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भको अभिलेख तयार गरेको थियो। खुला सीमाको संवेदनशीलता, सीमावर्ती क्षेत्रमा बढ्दो जनघनत्व तथा प्राकृतिक कारणले सीमा स्तम्भमा पर्ने असरलाई ध्यानमा राख्दै दुवै मुलुकले संयुक्त संयन्त्रमार्फत संरक्षण तथा पुनर्निर्माणलाई निरन्तरता दिएका छन्। सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने र सीमांकनको स्पष्टता कायम राख्ने दृष्टिले यस्ता गतिविधि महत्वपूर्ण मानिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया