पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती तथा खेतीयोग्य जमिनलाई बाढी र कटानबाट जोगाउन २७६ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय, झापाले हेंवा खोलाको दुवै किनारमा तटबन्ध निर्माण गरेको हो।
आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर गरी कुल २७६ मिटर लामो तथा तीन मिटर अग्लो तटबन्ध निर्माण गरिएको छ। तीन करोड रुपैयाँको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा थप २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो।
विगत तीन वर्षदेखि बाढीले हेंवा खोलाको बहाव परिवर्तन गरेपछि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा तीव्र कटान हुँदै आएको थियो। कटानका कारण सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै सिँचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका थिए।
हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बस्ती र कृषि भूमि जोगाउने उद्देश्यले यस वर्षदेखि तटबन्ध निर्माण सुरु गरिएको बताए। उनका अनुसार आगामी आर्थिक वर्ष २०८३र८४ मा पनि तटबन्ध विस्तारका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ।
पछिल्लो समय तमोर नदीको बहाव बस्तीतर्फ मोडिन थालेपछि माझीटार थप जोखिममा परेको छ।