.

आजदेखि मतदाता नामावली सङ्कलन सुरु ः अनलाइनबाटै विवरण भर्न सकिने

निर्वाचन आयोगले स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि पुनः सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि रोकिएको नामावली सङ्कलन कार्य आयोगको चैत १८ गतेको निर्णयअनुसार आजदेखि सुचारु भएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदाता नामावलीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था समेत लागू गरिएको छ । अब राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।


राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकहरूको हकमा भने आयोगको ‘प्रि(इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी अनलाइन फारम भरेपछि फोटो खिचाउन र औँठाछाप (जैविक विवरण) दिनका लागि आवेदक स्वयं सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

यसपटक आयोगले नामावली दर्ता मात्र नभई अन्य विवरण अद्यावधिक गर्ने कार्यलाई पनि सहज बनाएको छ । मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो परेका नाम हटाउने, मृत्यु भएका वा बसाइँसराइ गरेका व्यक्तिको विवरण अद्यावधिक गर्ने कार्यका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने प्रवक्ता भट्टराईले जानकारी दिए ।

यस्तै, नाम, थर, र ठेगाना सच्याउन चाहने वा एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल भएमा आफूलाई पायक पर्ने स्थानमा नाम सार्न चाहनेहरूले पनि प्रक्रिया अघि बढाउन सक्नेछन् । नागरिकताअनुसारको विवरण नमिलेको खण्डमा त्यसलाई सच्याउने अवसर समेत आयोगले प्रदान गरेको छ । निर्वाचन आयोगले योग्य सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो मताधिकार सुरक्षित गर्न मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रियताका साथ सहभागी हुन आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया