अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। यूएई जाने नेपालीको राहदानीमा प्रस्थान छापसँगै हस्तलिखित रूपमा लगायतका शब्द कर्मचारीले लेख्न थालेपछि यात्रुहरुले गुनासो एवम् विरोध गरेका हुन्।
राहदानीमा हस्तलिखित ÷केरमेटको विषयलाई लिएर दबाब बढेपछि आज आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको विभागले विज्ञप्तिमार्फत जनाएको हो।
अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ।
विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको जनाएको छ।