.

फुटपाथ व्यवस्थापन र अवैध उत्खनन् रोक्न विराटनगर महानगर भोलिदेखि ‘एक्सन’मा

विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन र खोलाको अवैध उत्खनन् नियन्त्रण गर्न भोलिदेखि विशेष अभियान सुरु गर्ने भएको छ । महानगरले मुख्य बजार र आसपासका क्षेत्रमा हुने अव्यवस्थित क्रियाकलापलाई कडाइका साथ रोक्न सबै तयारी पूरा गरेको हो ।

अभियानअन्तर्गत भोलिदेखि पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री राख्न पाइने छैन । त्यस्तै, सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान बाहिर निकाल्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ । नियम उल्लंघन गर्नेलाई तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराइसकेको छ ।

फुटपाथ व्यवस्थापनसँगै महानगरले सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन् कार्यलाई पनि कडाइका साथ रोक्ने भएको छ । यस कार्यका लागि जिल्ला प्रशासन र प्रहरी प्रशासनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दीर्घकालीन रूपमा ट्राफिक जाम र पार्किङको समस्या समाधान गर्न महानगरले एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा गठित समितिमा ट्राफिक प्रहरी, मोरङ उद्योग व्यापार संघ, खुद्रा व्यापार संघ र नगर प्रहरीका प्रतिनिधि रहेका छन् । यो समितिले ठेला व्यवस्थापन र पार्किङ क्षेत्र निर्धारणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र पेश गर्नेछ, जसको आधारमा थप सुधारका कार्यक्रम लागू गरिनेछ ।

महानगरका मेयर नागेश कोइरालाले व्यवस्थित, सफा र सुरक्षित विराटनगर निर्माणका लागि यो कदम चालिएको बताउनुभयो । उहाँले सहरलाई सुन्दर बनाउने अभियानमा निजी क्षेत्र, व्यवसायी र आम सर्वसाधारणलाई साथ दिन अपिल गर्नुभएको छ ।

अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहनेछ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले महानगरको यो कदमलाई प्रहरी र प्रशासनको पूर्ण समर्थन रहने स्पष्ट पार्नुभएको छ ।

यसअघि मेयर कोइरालाको अध्यक्षतामा भएको बृहत् छलफलमा उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ र खुद्रा व्यापार संघका प्रतिनिधिहरूले पनि महानगरको अभियानमा ऐक्यबद्धता जनाउँदै व्यावसायिक अनुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया