विराटनगरमा तास खेलिरहेका ६ जना हिजो बुधबार राति पक्राउ परेका छन् । तास खेलिरहेका बेला उनीहरुलाई विराटनगर महानगरपालिका–९ सोमबारेबाट राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खाली घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रूपैयाँ र भारतीय २ हजार ५ सय रूपैयाँ बरामद भएको एसपी कटवालले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगेर राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।