विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुलेको तथ्य सरकारी अनुगमनबाट खुलेको छ ।
यात्रु तथा सर्वसाधारणबाट मनपरी मूल्य असुल्ने विमानस्थलभित्रका चारवटा होटल तथा क्याफेलाई १२ लाख रूपैयाँ जरिबाना गरिएको छ । यात्रु तथा सर्वसाधारणबाट विमानस्थलभित्रका पसलहरूले मनपरी मूल्य लिने गरेको गुनासो लगातार आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ संयुक्त अनुगमन टोलीले छड्के निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा विमानस्थल परिसरभित्र सञ्चालित चारवटा व्यवसायले वस्तुमा अंकित खुद्रा मूल्य (एमआरपी) भन्दा धेरै बढी रकम लिएको भेटिएको हो । अनुगमन टोलीले तत्काल कानुनी कारबाही गर्दै प्रत्येक व्यवसायलाई तीन–तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ । उपभोक्ताबाट चर्को मूल्य असुली गरिएको पुष्टि भएपछि चारवटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गरिएको हो । सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए । उनका अनुसार कारबाही गरेर चारवटै होटल तथा क्याफेहरूबाट १२ लाख रुपैयाँ जरिबाना असुल गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विमानस्थल मात्र नभएर उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्यभन्दा बढी रकम असुल गर्ने तथा कानुनविपरीत व्यापार गर्ने जोसुकै व्यवसायीमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने स्पष्ट पारेका छन् । यदि कुनै व्यवसायले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाइएमा सम्बन्धित निकायमा उजुरी दिन पनि सर्वसाधारणलाई कटेलको आग्रह छ । विराटनगर विमानस्थलभित्र भएको पछिल्लो कारबाहीले उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा महत्वपूर्ण सन्देश प्रवाह गर्दै सार्वजनिक स्थलमा हुने खुला मूल्य ठगीविरुद्ध सरकारी संयन्त्र सक्रिय रहेको स्पष्ट पारेको छ ।