.

विराटनगरमा गृहमन्त्री गुरुङको दौडधुप : सीमा नाकादेखि प्रहरी ब्यारेकसम्म

गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगर आएर नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा अधिकारीहरूसँग विस्तृत छलफल गरेका छन् । काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बिहान करिब ११ बजेतिर विराटनगर विमानस्थल अवतरण गरेका गृहमन्त्री गुरुङको स्वागत सुरक्षा निकायका प्रमुखहरूले गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक संरचनाको समस्या सरकारलाई राम्रोसँग जानकारी रहेको बताए । बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरेर प्रहरीका आवश्यक भवन निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत निरीक्षण आवश्यक भएको भन्दै गृहमन्त्री गुरुङ कोशी प्रदेश आएको सुरक्षा स्रोतले बताएको छ । भारतसँग जोडिएको प्रमुख सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा उनले प्रत्यक्ष अवलोकन गरेका छन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग उनले आवश्यक सुधारका विषयमा अनौपचारिक छलफलसमेत गरेका थिए ।

निरीक्षणका क्रममा उनले पुनः प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको दोहोर्याए । धेरै प्रहरी भवन जीर्ण अवस्थामा रहेकाले सुरक्षा संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरेर काम अघि बढाइने प्रतिबद्धता जनाएका छन् । मोरङ बसाइका क्रममा उनले सीमा सुरक्षाको अवस्था, सम्भावित चोरी तस्करी, प्रशासनिक सेवा प्रवाह, प्रहरी पूर्वाधार तथा सुरक्षा संयन्त्रको कार्यसम्पादनका बारेमा प्रत्यक्ष जानकारी लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया