.

कोशीसहित सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण कोशी प्रदेशसहित मुलुकका सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा पनि वर्षाको प्रक्षेपण गरिएको छ । यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेकाले आज सातै प्रदेशमा मौसमको प्रभाव देखिनेछ ।

विशेष गरी कोशी र मधेस प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने देखिएको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको क्रम जारी रहनेछ । मधेश प्रदेशमा आंशिक बादल लाग्ने र तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । बाँकी क्षेत्रमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

चट्याङ्ग, वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र यातायात क्षेत्रमा पर्न सक्ने असरप्रति सजग रहन महाशाखाले स्थानीयवासीलाई अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया