.

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी

काठमाडौं १४ जेठ । कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो । चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिनुभएको हो ।

जसमा रेशम चौधरीको नाम पनि रहेको छ । आइतबार बिहान बसको मन्त्रिरिषद्को बैठकले रेशम चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । २०७२ साल भदौ ७ गते भएको उक्त घटनामा चौधरी मुख्य दोषी ठहर भएका थिए । कैलाली जिल्ला अदातल, उच्च अदालत सुर्खेत र सर्वाेच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गर्दै आजन्म कैद सजाय गरेका थिए ।

जेलमै बसेर नागरिक उन्मुक्ति पार्टी गठन गरका चौधरीको पार्टीका प्रतिनिधिसभामा चार सदस्य छन् भने चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पुष्पकमल दाहालको सरकारमा भूमि व्यवस्था मन्त्री रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया