इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच अहमदाबादमा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
गुजरात शीर्ष दुई स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ भने चेन्नई प्लेअफ पुग्ने झिनो आशा कायम राख्न मैदान उत्रिनेछ।
चेन्नईलाई प्लेअफ पुग्न आजको खेल जित्नु अनिवार्य छ। त्योसँगै राजस्थान रोयल्स र पञ्जाब किंग्सले आफ्ना अन्तिम खेल हार्नुपर्नेछ भने कोलकाता नाइट राइडर्सले बाँकी दुई खेलमध्ये एकभन्दा बढी जित्न नहुने अवस्था छ।
यदि चेन्नई पराजित भए लगातार तेस्रो सिजन प्लेअफ पुग्न असफल हुनेछ। यता गुजरात भने ५ सिजनमध्ये चौथोपटक प्लेअफ पुगिसकेको टोली हो। आजको जितले उसलाई शीर्ष दुईमा पुग्न थप बलियो बनाउनेछ।
चेन्नईका कप्तान ऋतुराज गायकवाडमाथि दबाब बढिरहेको छ। यस सिजन उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। अर्काेतर्फ सञ्जु सामसनले भने टोलीका लागि राम्रो प्रदर्शन गरेका छन्। सामसन आइपिएल करियरमा दोस्रोपटक ५ सय रन पूरा गर्न केवल २३ रन टाढा छन्।
गुजरातका स्टार स्पिनर राशिद खान पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन्। पछिल्लो खेलमा कोलकाताविरुद्ध महँगो साबित भएका राशिद आज पुनरागमन गर्न चाहन्छन्।.।