.

विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । आइतबार  सम्पन्न अन्तिम समूह चरणका खेलहरूसँगै आगामी यात्रा तय गर्ने ३२ टोलीको नाम निश्चित भएको हो ।

यस पटकको नकआउट समीकरण निकै रोचक देखिएको छ। साबिक विजेता अर्जेन्टिनाले राउन्ड अफ ३२ मा विश्वकपमा डेब्यु गरिरहेको केप भर्डेको सामना गर्ने छ । उपाधि रक्षाको लक्ष्यमा रहेको अर्जेन्टिनाका लागि यो खेल तुलनात्मक रूपमा सहज मानिए पनि डेब्यु टोली केप भर्डेले समूह चरणमा देखाएको प्रदर्शनले खेल रोमाञ्चक हुने संकेत गरेको छ ।

त्यस्तै, अर्को दाबेदार टोली फ्रान्सले जुलाई १ मा न्यु जर्सीस्थित रंगशालामा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ। स्वीडेनले समूह चरणमा उत्कृष्ट पुनरागमन गर्दै नकआउटमा स्थान बनाएको हो ।

क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले भने जुलाई ३ मा २०१८ को उपविजेता क्रोएसियाको सामना गर्ने छ। समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगलले कठिन प्रतिद्वन्द्वीका रूपमा क्रोएसियालाई पाएको हो । क्रोएसिया र पोर्चुगल बीचको खेललाई राउन्ड अफ ३२ को ‘बिग म्याच’ का रूपमा हेरिएको छ।

यसैगरी, पाँच पटकको विश्व विजेता ब्राजिलले एसियाली बलियो टोली जापानसँग ह्युस्टनमा खेल्नेछ। पछिल्ला वर्षहरूमा विश्व फुटबलमा तहल्का मच्चाइरहेको जापानले ब्राजिललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

४८ टोलीको सहभागिता रहेको यस विश्वकपमा अब सुरु हुने नकआउट चरण ‘गर या मर’ को स्थितिमा हुनेछ। विश्वभरका फुटबल प्रेमीहरूको नजर अब कुन टोलीले अन्तिम १६ मा स्थान बनाउला भन्नेतर्फ सोझिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया