भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० जना पुगेको छ।
भेनेजुएलाका सांसद जर्ज रोड्रिगेजले सोही भूकम्पमा परी ३ हजार २ सय ३८ जना मानिस घाइते भएको जानकारी गराउनुभएको हो । साथै ५० हजार मानिसहरु बेपत्ता भएको बीबीसीले जनाएको छ। बुधबार राति गएका ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्यूडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो । प्रभावित क्षेत्रमा अहिलेसम्म १ सय भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका हुन् ।
स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महशुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महशुस भयो बताएको बीबीसीले जनाएको हो । घरमा क्षति पुगेपछि अधिकांश नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार, राहत र खोजी कार्यका साथै क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको बीबीसीले जनाएको हो ।
त्स्तै
जापानको उत्तर–पूर्वी तटनजिक आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको छ । भूकम्प स्थानीय समयअनुसार बिहान ७ः२५ बजे गएको हो । यसको केन्द्रविन्दु जमिनको सतहबाट झण्डै ४० किलोमिटर गहिराइमा रहेको छ । हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । जापान विश्वकै सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो ।