नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारदेखि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्ने भएको छ।
लिग–२ का लागि नेदरल्याण्डस पुगेको नेपालले श्रृंखलाको पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्ने भएको हो। प्रतियोगितामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई पटक खेल्ने भएको छ ।
नेपालको दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्याण्डससँग हुने भएको हो । लिग–२ को जारी सिजनमा नेपालले अहिलेसम्म खेलेका २८ खेलमध्ये ११ खेल जितेको छ।नेपालले १५ खेलमा हार व्यहोरेको हो ।लिगमा सहभागी कूल आठ टोलीमध्ये अमेरिका ४३ अंकसहित शीर्षस्थानमा रहेको छ।
३८ अंकका साथ स्कटल्याण्ड दोस्रो, ३२ अंकसहित नेदरल्याण्ड्स तेस्रो र ३१ अंकसहित ओमान चौथो स्थानमा रहेका हुन् ।
नेपाल र क्यानाडा समान २४ अंकसहित तालिकाको पाँचौ स्थानमा छन् ।
२२ अंकसहित नामिबियाले नेपाललाई पछ्याईरहँदा यूएई भने २४ खेलमा १४ अंकका साथ तालिकाको पुछारमा हेको हो ।
लिगको शीर्ष ४ टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने भएकोले यो श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।