युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टाअघि मात्रै पूर्वी युक्रेनका विभिन्न क्षेत्रमा रुसले भीषण आक्रमण गरेको छ।
मंगलबार भएका यी आक्रमणहरूमा परी कम्तीमा २७ जनाको ज्यान गएको छ, जसमा यो वर्षकै सबैभन्दा घातक मानिएको एउटा आक्रमणमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सैन्य परेडका लागि रुसले एक दिन मात्रै आक्रमण रोक्ने र बाँकी समय युक्रेनमाथि बमबारी गरिरहने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका थिए। युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले सामाजिक सञ्जाल एक्समा लेख्दै रुसले शान्तिको कुनै संकेत नदेखाएको आरोप लगाएका छन्। यता, युक्रेनी युद्धविरामको समयसीमा सुरु भएको केही मिनेटभित्रै सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाका रुस–नियुक्त प्रमुख सर्गेई अक्स्योनोभले टेलिग्राममा एक पोस्ट गर्दै युक्रेनी ड्रोन आक्रमणमा परी जान्कोइ सहरमा पाँच नागरिकको मृत्यु भएको दाबी गरे। यद्यपि, यो आक्रमण युद्धविरामको समयसीमा सकिनुअघि नै भएको अनुमान गरिएको छ र युक्रेनी युद्धविराम सुरु भएलगत्तै कुनै नयाँ आक्रमण भएको प्रमाण भेटिएको छैन।
युक्रेनको दक्षिण–पूर्वी सहर जापोरिज्जियामा हवाई बम र ड्रोन आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। क्षेत्रीय गभर्नर इभान फेडोरोभका अनुसार यस आक्रमणबाट आवासीय भवनहरू, कार मर्मत केन्द्र र कार धुने केन्द्रमा ठूलो क्षति पुगेको छ। साथै एउटा पसल र अन्य उद्योगहरूमा पनि आगलागी भएको छ। दक्षिण–पूर्वी युक्रेनकै डिनिप्रोमा भएको रुसी आक्रमणमा थप चार जनाले ज्यान गुमाएका छन्।
यसबाहेक पोल्टावा क्षेत्रमा रहेको ग्यास उत्पादन केन्द्रमा रुसले गरेको रात्रिकालीन आक्रमणमा छिमेकी खार्किभ क्षेत्रका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ भने उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ६ जना घाइते भएका छन्।
अर्कातर्फ, रुसको मध्य भागमा पर्ने चुभासिया क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ। रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा एकाइहरूले क्रिमिया र अन्य रुसी क्षेत्रहरूमा सात घण्टाको अवधिमा ९३ वटा युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ।