.

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा ३० बढी देशका प्रतिनिधिहरू सहभागी हुने

इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा ३० भन्दा बढी देशका प्रतिनिधि र ९० भन्दा बढी राष्ट्रका धार्मिक नेताहरू सहभागी हुने भएका छन् ।

इरानका गृह राज्यमन्त्री एवं अन्त्येष्टि व्यवस्थापन मुख्यालयका प्रमुख अली अकबर पुरजमशिदियनले आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराउनुभएको हो । उहाँले आगामी शुक्रवार तेहरानमा विदेशी नेता, उच्च अधिकारी र धार्मिक व्यक्तित्वहरूको उपस्थितिमा दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्न एक विशेष समारोहको आयोजना गरिने बताउनुभयो ।

अन्त्येष्टि कार्यक्रमको तालिका अनुसार यहि असार २० गते शनिबार बिहानदेखि आइतबारसम्म तेहरानस्थित इमाम खामेनी मोसल्लामा बिदाई समारोह सञ्चालन हुने भएको छ । सोमबार मुख्य अन्त्येष्टि जुलुस निकालिने कार्यक्रम रहेको हो । जसमा इरान र अन्य क्षेत्रीय मुलुकहरूबाट ठूलो संख्यामा जनसहभागिता रहने अपेक्षा गरिएको छ ।

गृह राज्यमन्त्री पुरजमशिदियनले यहि जुलाई ७ तारिखमा इरानको मध्य शहर कोममा विशेष समारोह आयोजना गरिने बताउनुभयो । जुलाई ८ मा धार्मिक विधिहरूका लागि खामेनीको पार्थिव शरीरलाई छिमेकी मुलुक इराक लगिने भएको छ । अन्त्यमा जुलाई ९ तारिखमा इरानको उत्तरपूर्वी शहर मशहदमा सर्वोच्च नेता खामेनीको अन्त्येष्टि गरिने उहाँले जानकारी गराउनुभयो ।

गत फेब्रुअरी २८ तारिखमा तेहरानमा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा परी सर्वोच्च नेता खामेनीको मृत्यु भएको थियो । उहाँको निधनपछि गत मार्च महिनामा इरानको ‘एसेम्बली अफ एक्सपट्र्स’ ले उहाँका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिसकेको छ ।

यसैबिच

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको जिम्मेवार पक्षविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रले जारी गरेको सन्देशमा खामेनीको हत्या गर्नेहरूमाथि प्रतिशोध अवश्य लिइने उल्लेख गरिएको छ । बीबीसीका अनुसार जोलकद्रद्वारा हस्ताक्षर गरिएको उक्त सन्देश इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । साथै, सन्देश सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत पनि सार्वजनिक गरिएको जनाइएको छ । खामेनीको निधनपछि मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको विश्लेषण भइरहेका बेला इरानको पछिल्लो चेतावनीले क्षेत्रीय तनाव अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया