सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च शतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ।
विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार विभागले हेर्ने कूल १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिब १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । विभागले तय गरेको नीतिअनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको हो ।
प्रविधिको प्रयोग र उपकरण परिचालन विगतका वर्षहरूमा म्यानुअल तरिकाले सूचना सङ्कलन गर्ने गरिए पनि यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोगलाई तीब्रता दिएको छ । महानिर्देशक जैसीले ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेण्ट र तिनका अपरेटरहरूको ‘लाइभ लोकेसन’ ट्रयाक गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । विभागको यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी उपकरणहरूलाई जोखिमयुक्त क्षेत्रको नजिकै तयारी अवस्थामा राखिएको छ ।
पहिरो नियन्त्रण र जोखिम न्यूनिकरण
नेपालको भौगोलिक बनावट र कमजोर भू–बनावटका कारण जुनसुकै स्थानमा पहिरोको जोखिम रहने तथ्यलाई आत्मसात गर्दै विभागले सम्भावित जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ । बजेट र क्षमताको अभावका कारण पहिचान भएका सबै स्थानमा स्थायी रोकथाम गर्न नसकिए पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिमार्फत स्थिर ९स्ट्याबलाइज० गरिसकिएको विभागले जनाएको हो ।
विशेष गरी झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता पुराना र जटिल पहिरोहरूलाई नियन्त्रणमा लिइएको छ । नारायणगढ–मुग्लिङ खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको विभागले जनाएको हो ।
यात्रुहरूलाई सुरक्षित यात्राको अपिल
महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान विभागको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न र सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीहरूको निर्देशन पालनाका लागि आग्रह गर्ने बताउनुभएको छ ।
सडकमा कुनै पनि विपत्ति आइपरेमा विभागको हटलाइन, सुरक्षा निकाय वा नजिकैको प्रहरी चौकीमा तत्काल खबर गर्न समेत विभागले सूचित गरेको जनाएको हो । निर्माणाधीन सडकहरूको हकमा निर्माण व्यवसायीलाई नै जिम्मेवार बनाइएको र अन्य सडकमा विभागले २४ सै घण्टा सेवा दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।