विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबिच तनाव थप चुलिएको छ। दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ।
कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।
कुवेतले सोमबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका खतराप्रति जवाफी कारबाही गरेको जनाएको छ।
इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियास्वरूप आक्रमण गरेको दाबी गरिए पनि कुवेती सेनाले तत्काल कुनै क्षति वा मानवीय हताहत भएको पुष्टि गरेको छैन। बहराइनले पनि सम्भावित मिसाइल खतरालाई मध्यनजर गर्दै सोमबार दुई पटक चेतावनी साइरन बजाएको जनाएको छ।
यसैबीच, अमेरिका र इरानले एकअर्काविरुद्ध सैन्य गतिविधि तीव्र बनाउँदै स्ट्रेट अफ हर्मुज खुला वा नियन्त्रणमा रहेको विषयमा परस्पर विरोधी दाबी गरेका छन्।
ओमानको तट नजिक इरानले एक कन्टेनर जहाजलाई लक्षित गरेपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने जलमार्ग फेरि अन्तर्राष्ट्रिय चिन्ताको केन्द्र बनेको छ।
विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण युद्ध पुनः सुरु भए त्यसका परिणाम विनाशकारी हुने चेतावनी दिँदै संयम अपनाउन आग्रह गरे।
युद्ध अन्त्यका लागि पाकिस्तान, कतार र इजिप्टलगायत देशहरूले मध्यस्थता जारी राखेका छन्। वार्तासँग परिचित एक क्षेत्रीय अधिकारीका अनुसार युद्धविरामलाई स्थायी बनाउने प्रयास अझै रोकिएको छैन।