धनगढीमा अनशनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकार र डा. केसी पक्षबीच सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु भएको छ । आइतबार ११ घण्टा लामो वार्तामा पनि सहमति हुन नसकेपछि पुनः संवाद सुरु भएको हो ।
आइतबारको वार्तामा अन्य विषयमा सहमति नजिक पुगे पनि निजी मेडिकल कलेजको एमबीबीएस सिट संख्या निर्धारण र विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गर्ने विषयमा सहमति जुट्न सकेको छैन । हाल केही मेडिकल कलेजले १३० जनासम्म विद्यार्थी भर्ना गरिरहेकामा सरकार सिट संख्या बढाउने पक्षमा देखिएको छ भने डा. केसीले मापदण्डअनुसार सिट संख्या घटाउनुपर्ने अडान राखेका छन् । त्यस्तै विश्वविद्यालयका रजिस्ट्रार र उपकुलपतिलाई पदमुक्त गर्ने विषयमा पनि दुवै पक्षबीच कुरा मिल्न बाँकी छ ।
यी दुईबाहेक गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्ने, एमबीबीएस अध्ययन तत्काल सुरु गर्ने, छात्रवृत्ति ऐन कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू लागू गर्ने विषयमा भने सरकार सकारात्मक देखिएको डा. केसीका सहयोगी डा. अमृत जैसीले बताए ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम सहभागी छन् । डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापाले प्रतिनिधित्व गरेका छन् ।
शुक्रबारदेखि धनगढीमा अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ ।