प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित बनेका छन्। उनीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारीहरूले साउन १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। लामो समयदेखि समान प्रकृतिको काम गर्दा पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि व्यवस्थापनले मागप्रति कुनै सुनुवाइ नगरेपछि केन्द्रीय कार्यालय नै घेराउ गर्न बाध्य भएको आन्दोलनरत कर्मचारीहरूले बताएका छन्।
उनीहरूले समान कामका लागि समान ज्याला, स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेसागत स्थायित्वको मुख्य माग राखेका छन्।