अविरल वर्षाका कारण खहरेमा आएको लेदोसहितको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बाँझोगरामा १० परिवारको खेत पुरिएको छ । दिक्तेल–जालपा–फेदी–ऐसेलुखर्क सडकखण्डअन्तर्गत जापलाको खरबारीबाट बाँझोगरामा झरेको लेदोसहितको बाढीले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको गरेको छ ।
अविरल वर्षापछि यही साउन २, ३, ४ र १८ गते साउने खोल्सीमा झरेको लेदोसहितको बाढीले खेतबारी पुरेको किसानले बताएका छन् । रोपाइँ सकेर गोड्ने बेलाको खेतमा लेदोसहितको बाढी झरेर गेगर र बालुवा थुप्रीएको छ भने धान फल्ने खेत साउने खोल्सीको लेदोसहितको बाढीले पुरिए पछि किसान चिन्तित भएका छन् । धान उत्पादनका लागि उर्वरभूमि मानिने रावाखोला किनारको बाँझोगरा खेतमा रोपाइँ सकेर गोडमेल गर्ने बेला बाढीले धानबाली तथा खेतबारी पुरेपछि किसान मर्कामा परेका छन् । विगतमा साउने खोल्सीमा त्यस प्रकारको बाढी कहिल्यै नझरेको स्थानीय रत्नकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै, रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतमै लगिएको सिम्ले कुलो र साउने खोल्साबाट पिखुमको ठूलो खेत लगिएको कुलो पनि बगाएको छ । बाढीले क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि एँेसेलुखर्क गाउँपालिकाका पूर्वप्रमुख विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका थिए । किसानको माग लिएर प्रशासनमा बुझाइएको निवेदन अहिलेसम्म सम्बोधन नभएको निरौलाले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष अविरल वर्षाले विभिन्न स्थानीय तहका किसानको धान खेत तथा बारीमा क्षति गरेको छ । निरन्तरको वर्षाका कारण अहिले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । गत जेठबाटै वर्षा सुरु भएको जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डसमेत बाढी तथा पहिरोले पटक–पटक अवरुद्ध हुँदै आएको छ ।