.

राहदानी छपाइको भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो । 

महानिर्देशक अर्यालसँग ५ लाख रूपैयाँ धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग चार लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग तीन लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंसँग तीन लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई पाँच लाख धरौटी माग भएको छ । 

तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र तत्कालीन उपसचिव (कानुन) राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ । 

गएको असार ८ गते अख्तियारले महानिर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै उनीहरूमाथि अख्तियारले १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रूपैयाँ बिगो कायम गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया