.

सुन तस्करी प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

विराटनगर , १४ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीमूलका बेल्जियमका नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको छ ।

गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको गृहमन्त्रालयले जनाएको छानबिन टोलीले पुष्टि गरेको छ ।  समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत  खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा हुनुहुन्थ्यो । 

समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । यो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिनुभयो । 

समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ । थप अपराध अनुसन्धान भने सीआईबीलाईले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ ।  उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गएको साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

अहिले यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना सङ्कलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया