विराटनगर ,२४ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ न्यायधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याउनेमा परेपछि आज माथेमाको इजलासमा परेको हो ।
कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ ।
एमालेको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा. सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललगायतका बरिष्ठ अधिवत्ताले बहस गर्ने भएका छन् । तर, माथेमाको इजलासको २४ औँ नम्बरमा मुद्धा रहेकाले आज पनि हेर्न नभ्याइनेमा पर्ने सक्ने सम्भावा छ ।