.

कोशीमा बर्डफ्लू फैलिएका जिल्लाबाट पन्छीजन्य वस्तु ओसारपसारमा रोक

कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्डफ्लू संक्रमण पुष्टि भएपछि पन्छी तथा पन्छीजन्य वस्तुहरूको ओसारपसारमा रोक लगाइएको छ ।

संक्रमण थप फैलिन नदिन पशु सेवा विभाग र सरोकारवाला निकायहरूको निर्णयअनुसार प्रभावित तथा जोखिमयुक्त जिल्लाबाट कुखुरा, अण्डा, मासु र सुली ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको हो । विभिन्न फार्महरुमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि नियन्त्रण तीव्र बनाएर सिमाना जोडिएका जिल्लामा पन्छीजन्य वस्तु ओसारपसार गर्न दुई सातासम्मलाई पूर्णरूपमा रोक लगाइएको छ ।

प्रतिबन्धसँगै मोरङ, झापा र सुनसरीबाट सिमाना जोडिएका धनकुटा, पाँचथर, इलाम, उदयपुर र सप्तरी जिल्लामा पन्छीजन्य वस्तु ओसारपसार र बिक्री वितरण गर्न पाइने छैन । प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएसँगै बर्डफ्लू नियन्त्रणलाई प्राथमितामा राखेर उच्च सतर्कता अपनाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताए ।


उनका अनुसार संक्रमण पुष्टि भएको फार्म वरपर २० मिटरको परिधिलाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवतजावत नियन्त्रण गरिएको छ । संक्रमण जोखिम क्षेत्र विस्तार हुँदै गएपछि सरोकारवाला निकाय सक्रिय भएका हुन् । सुरुमा मोरङ र त्यसपछि झापा तथा सुनसरीमा बर्डफ्लू पुष्टि भएको थियो ।


गृह मन्त्रालयको विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाबाट प्राप्त पत्र तथा पशु सेवा विभागमा बसेको सरोकारवालाको बैठकले संक्रमण फैलिन नदिन तत्कालका लागि कम्तीमा दुई हप्तासम्म ओसारपसारमा रोक लगाउने निर्णय गरेको सहायक प्रजिअ कोइरालाको भनाइ छ ।


पशु सेवा विभागका अनुसार बर्डफ्लु नियन्त्रणको मुख्य उपाय नै संक्रमणको चक्र तोड्नु भएकाले पन्छीजन्य उत्पादनहरूको ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको हो । ओसारपसारमा रोक लगाएपछि संक्रमण अन्य जिल्लामा फैलिन नपाउने बताइएको छ ।


सरोकारवाला निकायहरूले किसान, व्यवसायी तथा उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । संक्रमित वा शंकास्पद पन्छी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन र कुखुरा फार्महरूमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ ।


यस्तै, स्थानीय तहहरूले जनचेतना अभिवृद्धि गर्ने, निगरानी बढाउने र संक्रमण नियन्त्रणमा आवश्यक समन्वय गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । कुखुरापालन व्यवसायमा संलग्न किसानहरूलाई अनावश्यक आवतजावत नगर्न र सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ ।


पूर्वी नेपालमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा कुखुरापालन व्यवसाय र पन्छीजन्य उद्योगमा प्रत्यक्ष असर परेको छ । समयमै नियन्त्रण गर्न नसके आर्थिक क्षति र जनस्वास्थ्य दुवैमा गम्भीर असर पर्ने जोखिम रहेको भन्दै सम्बन्धित निकायहरूले सबैलाई जिम्मेवार भएर सहयोग गर्न आह्वान गरेका छन् ।

मोरङ, सुनसरी र झापाका १३ स्थानमा बर्डफ्लू पुष्टि भइसकेको छ । भारतमा पनि संक्रमण फैलिँदै गएकाले सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया