इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारीसँग जोडिएको आत्महत्या दुरुत्साहन प्रकरणमा अदालतले फरार दुई जना प्रतिवादीका नाममा पक्राउ पुर्जी जारी गरेको छ ।
सहकारीभित्रको आन्तरिक व्यवस्थापन, बजार संरचना र कर्मचारीबीचको विवादले उग्र रूप लिएर एक कर्मचारीले आत्महत्या गरेको घटनासँग सम्बन्धित उक्त मुद्दा अहिले कानुनी प्रक्रियाको निर्णायक चरणतर्फ प्रवेश गरेको छ । झापा जिल्ला अदालतले रञ्जितकुमार झा र शेरबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई पत्राचार गरेको छ ।
अदालतका अनुसार दुवै प्रतिवादी उपस्थिति नभएपछि उनीहरुलाई फरार सूचीमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो । अदालतले झाको नाममा पहिलो चरणमा ७ दिनको पक्राउ पुर्जी जारी गरिएको छ । उक्त अवधिमा पनि उपस्थित नभए थप ३५ दिनको पक्राउ पुर्जी तामेल गरी खोजतलासलाई तीव्र बनाउन निर्देशन दिइएको छ ।
अर्का प्रतिवादी शेरबहादुर खड्काका नाममा भने ३५ दिनको पक्राउ पुर्जी नै जारी गरिएको छ । अदालतले तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार थप प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । जिल्ला सरकारी वकिल कार्यालयमार्फत नेपाल सरकार वादी बनेर दायर गरिएको मुद्दामा जाहेरीकर्ता कमल मिश्र र तेजप्रसाद सुवेदी रहेका छन् । उनीहरूको जाहेरीपछि अनुसन्धान प्रक्रिया अघि बढ्दै जाँदा दुई प्रतिवादीलाई अदालतमा उपस्थित गराउन पटकपटक प्रयास गरिएको भए पनि उनीहरू सम्पर्कमा नआएको अदालतले जनाएको छ ।
अदालतले हालको आदेशमार्फत प्रहरीलाई दुवै प्रतिवादीको खोजतलासलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा बसोबास गर्दै आएका झा र मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसोबास गर्दै आएका खड्का फरार प्रतिवादी हुन् ।
सहकारी संस्थाभित्रको कार्य वातावरण, बजार व्यवस्थापन र कर्मचारी जिम्मेवारीका विषयलाई लिएर पछिल्ला वर्षहरूमा देखिएको विवादले घटनालाई थप जटिल बनाएको देखिन्छ । अनुसन्धानका क्रममा सहकारीभित्रको आन्तरिक तनाव, कार्य दबाब र व्यवस्थापकीय निर्णयहरूबीचको असन्तुलनले कर्मचारीको मानसिक अवस्थामाथि असर पारेको दाबीसमेत उठाइएको छ ।
अदालतले जारी गरेको सूचनामा प्रतिवादीहरूलाई तोकिएको समयभित्र अनिवार्य रूपमा अदालतमा उपस्थित हुन आग्रह गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार उनीहरूविरुद्ध अनुपस्थितिमा समेत मुद्दा अघि बढाइने भएको छ ।
प्रहरीले पनि अदालतको आदेशअनुसार फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र पारेको छ । यो प्रकरणले सहकारी संस्थाभित्रको कार्य संस्कृतिमा हुने मनोवैज्ञानिक दबाब, व्यवस्थापकीय विवाद र कर्मचारी सुरक्षासम्बन्धी प्रश्नलाई सतहमा ल्याएको छ ।