.

बाढी पहिरोबाट संखुवासभामा कोशी राजमार्ग अवरुद्ध, ताप्लेजुङमा घर र जलविद्युत् आयोजनामा क्षति


अविरल वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने ताप्लेजुङमा पहिरो र बाढीले घर तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा पहिरो खस्दा छोङराङ आसपासको सडक सोमबार साँझदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सडक बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सदरमुकाम खाँदबारीबीचको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार लगातारको वर्षापछि माथिल्लो भेगबाट ठूलो परिमाणमा पहिरो झरेको हो। पहिरो हटाउन उत्तर–दक्षिण कोशी सडक आयोजना, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच समन्वय भइरहेको भए पनि निरन्तर वर्षा र थप पहिरो खस्ने जोखिमका कारण सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारीतर्फ आउँदै गरेका र खाँदबारीबाट उत्तरी क्षेत्रमा जाँदै गरेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।

उता ताप्लेजुङमा पनि वर्षासँगै आएको पहिरो र बाढीले फक्ताङलुङ गाउँपालिकाका तीन घरमा क्षति पुर्याएको छ। फक्ताङलुङ–१ साँवादिनको तेम्रङ क्षेत्रमा घरमाथिबाट खसेको पहिरोले गणेश कटवाल र दुर्गा कटवालको घरमा क्षति पुर्याएको वडाध्यक्ष यज्ञप्रसाद सावादेनले जानकारी दिए।

गणेश कटवालको जग्गामा घर बनाएर बस्दै आएका नरेन्द्र लिम्बुको घर तथा शौचालयमा समेत क्षति पुगेको छ भने बाढीले बाख्रालगायत पशुचौपाया बगाएको छ। घरमाथिको भीरको फेदीबाट खसेको पहिरोसँगै आएको बाढी घरभित्रै पसेपछि स्थानीय त्रसित बनेका छन्।

त्यसैगरी, मिक्वाखोला गाउँपालिकामा सञ्चालित मध्यमेवा जलविद्युत् आयोजनाको बाँधमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। आयोजनाको संरचनामा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।

सोमबार बिहान पहिरोका कारण अवरुद्ध भएको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र वडा नम्बर ६ नाल्बु जोड्ने सडक भने अवरोध हटाएपछि दिउँसोदेखि पुनः सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ। लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम बढ्दै गएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया