.

चिया निर्यातको गाँठो फुकाउन उच्चस्तरीय कार्यदल

नेपाली चियाको भारत निर्यातमा लामो समयदेखि कायम प्राविधिक तथा व्यापारिक अवरोध हटाउन सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएका समस्याको पहिचान गरी स्थायी समाधानका उपाय पहिल्याउन सरकारले यो कदम चालेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, निर्यातमा हुने झन्झट हटाएर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न कार्यदल बनाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवको संयोजकत्वमा गठित यस कार्यदललाई दुई हप्ताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र र कृषि मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन् । त्यस्तै, भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकहरूलाई पनि कार्यदलमा समेटिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र वाणिज्य मन्त्रालयका उपसचिवहरूले पनि यसमा प्रतिनिधित्व गरेका छन् ।

भारतीय बजारमा नेपाली चिया जाँदा पटक–पटक गुणस्तर परीक्षण, भन्सार अवरोध र अन्य गैर–भन्सार अवरोध भोग्नुपर्ने गुनासो पूर्वी नेपालका व्यवसायीहरूले गर्दै आएका छन् । कार्यदलले यी समस्याको जड पत्ता लगाई भारतसँगको व्यापारिक सन्धि र सम्झौताका आधारमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने सुधारका सुझाव दिनेछ ।

यस कार्यदलको गठनसँगै कोशी प्रदेशका चिया किसान र व्यवसायीले भोग्दै आएका निर्यातजन्य समस्या समाधान हुने र नेपाली उत्पादनको निकासी सहज हुने विश्वास लिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया