.

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली, सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हे.क्वा.छिन्ताङ्ग धनकुटाको सहकार्यमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हे.क्वा.छिन्ताङ्ग धनकुटाको गुल्म परिसरमा आयोजित कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरि जम्मा २० जना प्रशिक्षार्थीहरु सहभागी हुनुहुन्छ । जस मध्ये १३ जना विपद् सुचक तथा स्थानियबासीहरु हुनुहुन्छ भने ७ जना नगर प्रहरीहरु सहभागीता रहेको छ । सात दिनसम्म सञ्चालन हुने तालिममा जसमा विपद्को परिचय, बाढी पहिरो तथा पानीजन्य विपदमा खोज उद्धार¸ भूकम्प¸ आगलागी नियन्त्रण तथा सुरक्षा¸ भत्केका संरचनाहरुमा खोज तथा उद्धार¸ प्राथमिक उपचार¸ गाँठोको प्रकार तथा प्रयोग विधि सम्बन्धि विषयहरुमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले विपद्का घटनामा स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै समुदायमै दक्ष स्वयंसेवक तयार भएमा विपद्को प्रभाव न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो 

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्य बारे प्रष्ट पार्दै सशस्त्र प्रहरी बल¸ नेपाल नं.६ गुल्म हे.क्वा.छिन्ताङ्ग धनकुटाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) प्रेम प्रसाद सिग्देलले सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यका कार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

तालिमबाट समुदायस्तरमा दक्ष स्वयंसेवक समूह तयार भई विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया