प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्रको शव सुनसरीको कप्तानगन्ज ल्याइएको छ। हेलिकोप्टरमार्फत बुधबार बिहान १०ः२० बजेतिर शव कप्तानगन्ज ल्याइएको हो।
शवलाई सुरुमा मृतकको घरमा लगेर श्रद्धाञ्जली अर्पण गरिएपछि अहिले गाउँमा शवयात्रा भइरहेको छ। स्थानीय समाजसेवी अमरेश मेहताका अनुसार हरिनगर र देवानगन्ज क्षेत्रमा शवयात्रा गराइँदै छ।
गोली चलेकै स्थानमा अन्त्येष्टि गर्ने तयारी भइरहेको र साँझसम्ममा दाहसंस्कार गरिसक्ने कार्यक्रम रहेको मेहताले बताए।
गत साउन १० गते देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोलीले उनी घाइते भएका थिए। थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
सरकारले सुनसरीको देवानगन्ज र सिरहामा भएका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सहिद घोषणा र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको रवीन्द्रको शव ल्याइएको हो ।
गृहमन्त्री र पीडित पक्षबीच सोमबार भएको सात बुँदे सहमतिपछि मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो । सहमतिअनुसार मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने छ भने परिवारका एक–एक जना सदस्यलाई रोजगारीको अवसर दिइने छ । देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताका अनुसार रोजगारीका लागि सम्बन्धित परिवारका सदस्यको नाम सरकारलाई बुझाइसकिएको छ ।