.

विराटनगरमा पत्नीको हत्या गरेर कल्भर्टमा लुकाइयो शव, हराएको नाटक गर्दै प्रहरीमा निवेदन


विराटनगरमा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको अत्यन्तै संवेदनशील र भयावह घटना सार्वजनिक भएको छ ।

घटना विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहसँग जोडिएको छ । उनले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो ।

प्रहरीका अनुसार रोशनले हत्या गरेपछि सुनियोजित शवलाई लुकाउन सुनियोजित प्रयास गरेका थिए । उनले हातखुट्टा बाँधी पत्नीको शवलाई तन्नाले बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पत्नीको हत्यापछि शव व्यवस्थापन गरेर घटना लुकाउनलाई घरदेखि करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको उक्त स्थान रोजिएको पत्ता लागेको छ ।

घटनाको खुलासा भने चार दिनपछि भयो । कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।


शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढायो । सोही क्रममा मृतक महिला कोमलकुमारी साह रहेको पुष्टि भयो ।

प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । तर, अनुसन्धानको क्रममा उनले नै हत्या गरेर घटना लुकाउन खोजेको तथ्य बाहिर आएको जानकारी डीएसपी लामिछानेले दिए ।

प्रारम्भिक अनुसन्धानबाट रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । त्यसपछि प्रमाण नष्ट गर्न र घटना लुकाउन शवलाई टाढा पुर्याएर पानीभित्र फालेको लामिछानेको भनाइ छ । उनका अनुसार हातखुट्टा बाँधिएको, तन्नाले बेरिएको र पानीमा डुबाइएको अवस्थामा शव फेला पर्नुले घटना योजनाबद्ध रहेको यकिन हुन्छ ।

प्रहरीले रोशन साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेका छन् । हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन् । उनीविरुद्ध कर्तव्य ज्यान चलाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी राति करिब १० बजेतिर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टम रिपोर्टपछि घटनाका थप तथ्यहरू सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

यस घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास मुख्य कारणका रूपमा देखिएको छ । प्रहरी स्रोतका अनुसार रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्दै आएका थिए । यही शंका र विवादले अन्ततः ज्यानै लिने निर्णयसम्म पुर्याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

पत्नी हत्यासँग सम्बन्धित घटनाले समाजमा बढ्दो घरेलु हिंसा, सम्बन्धमा अविश्वास र त्यसबाट उत्पन्न हुने जघन्य अपराधका बारेमा उजागर गरेको छ । सबै पोटोबाट घटनाको अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया