.

विराटनगरको ‘हाइ प्रोफाइल’ जुवा खालमा छापाः जनप्रतिनिधिसहित ९ व्यवसायी पक्राउ

विराटनगर महानगरपालिका–२ स्थित एक निजी घरमा सञ्चालित जुवा खालमा छापा मारी प्रहरीले वडा सदस्यसहित ९ जना स्थापित उद्योगी व्यवसायीलाई पक्राउ गरेको छ। शनिबार राति स्थानीय वंशी राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर–२ का निर्वाचित वडा सदस्य शेरसिंह दुगडसहित मारवाडी समुदायका प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, विनीतलाल लालबनी र बलराम खत्री  छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थलबाट ९२ हजार ६ सय ४५ रुपैयाँ नगद, पाँच बुङ तास र हारजितको हिसाब राखिएको एउटा डायरी बरामद गरिएको छ।

ठूला व्यापारिक घरानाका व्यक्तिहरू संलग्न रहेको ‘हाइ प्रोफाइल’ जुवा खाल भए पनि बरामद रकम न्यून देखिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले भने ठूलो खेल भइरहेको सूचनाका आधारमा छापा मारिए पनि खानतलासीका क्रममा ९२ हजार रुपैयाँ मात्र फेला परेको बताए।

स्रोतका अनुसार ठूलो कारोबार हुने खेललाई सामान्य बनाउन बरामद रकम कम देखाइएको आशङ्का गरिएको छ। यद्यपि, प्रहरीले घटनास्थलमा जे भेटियो त्यही सार्वजनिक गरिएको दाबी गरेको छ। पक्राउ परेका सबैलाई आजै छाड्ने तयारी भइरहेको बुझिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया