धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मोरङको रतुवामाई नगरपालिका–५ स्थित ‘सुनबर्षी महाराजथान’मा यस वर्ष पनि भव्य मेला लागेको छ ।
हरेक वर्ष वैशाख १ गतेदेखि मेला लाग्ने गरेको छ । नयाँ वर्षको अवसरमा लाग्ने यस मेलामा हजारौँ भक्तजनहरूको उपस्थितिले त्यहाँको रौनक बढाउने गरेको छ । कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका साथै भारतको बिहार र पश्चिम बंगालसम्मबाट समेत श्रद्धालुहरू पूजाआजा गर्न आउने गर्छन् ।
सुनबर्षी महाराजथानप्रति गहिरो आस्था रहेको स्थानीय विश्वास छ । महाराजथानमा आएर वा नआएर पनि चिताएको कुरा पूरा हुने जनविश्वास सदियौँदेखि रहँदै आएको छ । थानको उत्पत्ति कहिले भयो भन्ने विषयमा यकिन इतिहास कसैसँग छैन । स्थानीय बुढापाकाहरू हजुरबुवाभन्दा पनि अघिदेखि यो थान अस्तित्वमा रहेको बताउँछन् ।
सुनबर्षी महाराज मन्दिर देवस्थल संरक्षण समितिका अध्यक्ष कुमार बुढाथोकीका अनुसार महाराजथानको पोखरीसँग जोडिएका अनेक किंवदन्ती छन् । उनले वैशाख १ गते बिहानदेखि नै हजारौँ भक्तजन आएर पूजाआजा गर्ने र भाकल पूरा भएपछि चढाउने परम्परा रहेको बताए ।
समिति सचिव शिवदयाल राजवंशीका अनुसार यो स्थान पौराणिक र ऐतिहासिक महत्त्व बोकेको ग्रामथान हो । उनका अनुसार सुनचाँदी आवश्यक पर्दा समेत यहाँ आराधना गर्दा प्रकट हुने विश्वासले यसलाई ‘सुनबर्षी’ नाम दिइएको हो ।
मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजको फूलघोडा चढाउने, परेवा उडाउने तथा बली दिने परम्परा कायम छ । समयसँगै यहाँको पोखरीमा रहेका गोही एवं चराचुरुंगी भने प्रदूषण र मानव बस्ती विस्तारका कारण हराउँदै गएको स्थानीयहरूको भनाइ छ ।
अध्यक्ष बुढाथोकीका अनुसार सुनबर्षी महाराजथान आस्था, विश्वास र किंवदन्तीको संगमस्थल बनेको छ । नयाँ वर्षको आगमनसँगै भक्तजनहरूको भिडले धार्मिक वातावरणलाई झनै जीवन्त बनाउने गरेको बुढाथोकी बताउँछन् ।