.

मिथिला क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै

कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला पानी, हिलो र रङको उत्साहले भरिएका छन् । नयाँ वर्षसँगै सुरु हुने सिरुवा पर्वले झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा सांस्कृतिक जीवन्तता थपेको छ ।

राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझी लगायतका आदिवासी समुदायहरू परम्परागत विधि, पूजापाठ र आपसी सद्भावसहित यो पर्व मनाइरहेका छन् । प्रदेश सरकारले पर्वको महत्वलाई स्वीकार गर्दै वैशाख २ गते बुधबार सार्वजनिक बिदा घोषणा गरेपछि यसको रौनक अझ बढेको छ ।

जुरशीतल पनि भनिने सिरुवा पर्व नयाँ वर्षको पहिलो दिनदेखि सुरु हुने तीनदिने सांस्कृतिक उत्सव हो । यो पर्व रमाइलो र खेलकुदमा मात्रै सीमित छैन । यसले प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सांस्कृतिक सन्देश बोकेको छ ।

पानी छ्याप्ने परम्पराले अघिल्लो वर्षका दुःख कष्ट पखालेर नयाँ वर्षलाई शीतल र सुखद् बनाउने विश्वास गरिन्छ । पर्वको पहिलो दिन अर्थात वैशाख १ गते ‘पानी सिरुवा’का रूपमा मनाइन्छ । यस दिन बिहानैदेखि गाउँबस्तीमा एकआपसमा पानी छ्याप्ने, हाँसो–ठट्टा गर्ने र शुभकामना आदानप्रदान गर्ने चलन छ ।

मिथिला क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । मधेशको मिथिला क्षेत्रमा जुडशीतल पर्व अन्तर्गत नयाँ वर्षको पहिलो दिन ‘सतुवाइन’ र आज दोस्रो दिनलाई ‘जुडशीतल’का रूपमा मनाउने गरिन्छ । 

जुडशीतल पर्वमा कूल देवताको पूजा गर्ने परम्परा छ । नयाँ वर्ष शुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीमा रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण कर्णले बताउनुभयो । 

यो पर्वले प्रकृति र स्वास्थ्यसँग सम्बन्ध राख्छ । परिवारका ज्येष्ठ सदस्यले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने परम्परा छ । 

यस्तै थारु समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । यस पर्वमा गाउँघरका इनार तथा कुवाको सरसफाइ तथा जीर्णोद्धार गर्ने परम्परा पनि रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया