.

नेपालका सुन पसलमा चोरी गर्ने पाकिस्तानी गिरोह पक्राउ

नेपालमा विभिन्न जिल्लाका सुन पसलहरूमा ग्राहकको भेषमा छिरेर चोरी गर्ने एक संगठित पाकिस्तानी गिरोहलाई प्रहरीले पर्दाफास गरेको छ । कपिलवस्तु प्रहरीले दुई महिला र दुई पुरुष गरी चार जना पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिएपछि घटना सार्वजनिक भएको हो ।

गत वैशाख १ गते कपिलवस्तुको चन्दौटाबाट दुई महिला पक्राउ परेका थिए । उनीहरूसँगको कडा सोधपुछ र अनुसन्धानका क्रममा सोही गिरोहमा संलग्न अन्य दुई पुरुष वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश भाग्न खोज्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

विमानस्थलबाट पक्राउ पर्नेमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ठुलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको छ । पक्राउ परेकाहरुको साथबाट १७ हजार १ सय ३६ अमेरिकी डलर, साउदी रियाल ३ सय २५, बंगलादेश टाका १ हजार ६१५, युएई दिराम ५, मलेसिया रिंगेट १ सय ८५ बरामद भएको छ । यस्तै इन्फिनिक्स र आइफोन १६ मोबाइल सेट एक–एक थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

चन्द्रौटामा पक्राउ परेकी २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबानाले चोरीका लागि अनौठो शैली अपनाउने गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनीहरू सुन किन्ने बहानामा पसल छिर्ने, विभिन्न गहनाहरू हेर्ने र पसलेको आँखा छलेर गहना गायब पार्ने गर्थे ।

पहिचान लुकाउन उनीहरूले मास्कमाथि ‘बुर्का’ लगाउने गरेको प्रहरीले जनाएको छ । वैशाख १ गते चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलबाट सुनको झुम्का चोरेर भाग्दै गर्दा स्थानीय र प्रहरीको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा यो गिरोह कपिलवस्तुमा मात्र नभई देशका अन्य व्यापारिक सहरहरूमा पनि सक्रिय रहेको खुलेको छ । उनीहरूले तौलिहवाको बागेश्वरी ज्वेलर्सबाट १ तोला सुन, सच्चिदानन्द ज्वेलर्सबाट ३ लाख ८३ हजार बराबरको सुनको सिक्री, इटहरीमा २ तोला, मोरङमा १ तोला र बुटवलमा ३ तोला सुन चोरी गरेको उजुरी परेको छ ।

प्रहरीले महिलाहरूको साथबाट ३८ लालको सुनको झुम्का, ८६ हजार नेपाली रुपैयाँ र पाकिस्तानी पासपोर्ट समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी संगठित चोरी मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया