सरकारी हुलाक सेवाको पहुँच विश्वका २७ मुलुकसम्म छ । तर विराटनगरस्थित हुलाक निर्देशनालयबाट विदेश जाने पार्सलमा भने औषधी बाहेक अन्य सामान निकै कम हुन्छन्। निजी कुरियर कम्पनीहरूले खाद्यान्न र लत्ताकपडा पठाएर मनग्य आम्दानी गरिरहँदा सरकारी हुलाक भने औषधी पठाउने थलोमा सीमित भएको छ।
विराटनगरबाट अहिले वैदेशिक ईएमएस सेवामार्फत महिनामा मुस्किलले चार–पाँच वटा मात्रै पार्सल जाने गरेका छन्। ती पार्सलमा पनि अधिकांश औषधी मात्र हुन्छन्। विशेषगरी अस्ट्रेलियामा रहेका आफन्तका लागि यहाँबाट औषधी पठाउने गरिएको छ। निजी कुरियरले झन्झटिलो मान्ने र महँगो शुल्क लिने यस्ता सामानका लागि मात्र नागरिकले सरकारी सेवा रोज्ने गरेका हुन्।
नायब सुब्बा भोजराज निरौलाका अनुसार औषधी पठाउँदा डाक्टरको प्रेस्क्रिप्सन र भन्सार जाँचको प्रक्रिया अनिवार्य पूरा गर्नुपर्ने हुन्छ। “यहाँबाट जाने सामानमा धेरैजसो औषधी नै हुन्छ,” उनी भन्छन्, “अहिले अस्ट्रेलियामा औषधी पठाउनेहरूको संख्या बढी छ।” पश्चिमी मुलुकहरूमा जारी द्वन्द्वका कारण २७ मध्ये ७ देशमा अहिले सेवा बन्द छ। हाल २० देशमा मात्र पार्सल सेवा चालू रहेको निरौलाले जानकारी दिए ।
नागरिकहरू सरकारी सेवाको गति र सुरक्षाप्रति पूर्ण आश्वस्त हुन नसक्दा साधारण सामानका लागि हुलाक आउँदैनन्। खाद्यान्न र लुगाफाटा जस्ता ‘सजिला’ सामान निजी कुरियरले लैजान्छन्। हुलाकमा भने औषधी जस्ता झन्झटिला र प्राविधिक सामान मात्र आइपुग्छन्।
अर्का नायब सुब्बा दीपेन्द्र कटवालका अनुसार हुलाकसँग आफ्नै पर्याप्त सवारी साधन छैन। कर्मचारीहरू व्यक्तिगत मोटरसाइकल प्रयोग गरेर सेवा दिन बाध्य छन्। निजी क्षेत्रले आधुनिक प्रविधि र छिटो सेवा दिएर बजार ओगटिरहँदा सरकारी हुलाक भने पुरानै ढर्रामा छ। स्रोत र साधनको अभावकै कारण हुलाकले वैदेशिक पार्सलमार्फत आर्जन गर्नुपर्ने ठूलो हिस्सा गुमाइरहेको छ। हुलाक अहिले केवल ‘अप्ठ्यारा’ सामान पठाउने माध्यम मात्र बनेको छ।