मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ ।
सम्भावित बाढी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र जनशक्ति परिचालन गरेको हो । सशस्त्र प्रहरी बलले देशभरका २१ हजार ६ सय ९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखेको छ ।
असार मसान्तसम्म सङ्गठनका सम्पूर्ण कर्मचारीहरूलाई यस्तो तालिम दिने लक्ष्य राखिएको छ । विपद् प्रतिकार्यकै लागि देशभर ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४ सै घण्टा ‘स्ट्याण्डबाई’ रहने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बताए ।
विपद्को समयमा तत्काल उद्धार टोली पुग्न कठिन हुने दुर्गम तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरिएको छ । जसअन्तर्गत कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा वेश रहेका छन् ।
यसैगरी, धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सप्तरीको भारदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, म्याग्दीको नारच्याङ र कैलालीको डुडेझारीसहित १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापन वेशहरू तयारी अवस्थामा राखिएको महानिरीक्षक पौडेलले बताए ।