मोरङको धनपालथान गाउँपालिकाबाट भारततर्फ तस्करी गर्न तयारी अवस्थामा लुकाइराखिएको करिब ९६ किलो गाँजा प्रहरीले बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी कर्सिया र प्रहरी चौकी गडेरियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा धनपालथान गाउँपालिका–१ नोचाका २७ वर्षीय सुमनकुमार साह र सोही ठाउँका २७ वर्षीय अमर साहलाई भारतीय नम्बर प्लेटको बीआर ३८ एच ८७३३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएपछि प्रारम्भिक सोधपुछ गरेको थियो। उनीहरूले दिएको सूचनाका आधारमा प्रहरीले धनपालथान–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको पटुवाबारीमा खोजतलास गरेको थियो।
त्यहाँ कालो प्लास्टिकमा प्याक गरी तीनवटा पोकामा लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल गर्दा ९६ किलो १९८ ग्राम रहेको खुलेको छ।
प्रहरीका अनुसार बरामद गाँजा भारततर्फ तस्करी गर्ने तयारीमा लुकाइएको आशंका गरिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान भइरहेको छ।
घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा गाँजा भारततर्फ पठाउने योजनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।