.

हुरीबताससहित ठूलो वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै

जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित ठूलो वर्षा गराउने प्रणाली पूर्वतिर सरिरहेको जनाएको छ । यो प्रणालीले काठमाण्डौ उपत्यकासहित बागमती र मधेश प्रदेशका धेरैजसो ठाउँमा पानी पर्न थालेको छ ।


विभागका अनुसार अहिले कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ । विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताउनुभयो ।


विभागले अहिले देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । मौसमविद् अधिकारीका अनुसार सुदूरपश्चिमबाट शुरू भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेश प्रदेशसम्म फैलिसकेको छ । हुरीबतासको गति झन्डै ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही ठाउँमा झन्डै २ घण्टासम्म यसको प्रभाव रहने छ ।


आज विशेषगरी ठूलो वर्षाको सम्भावना रहेको र बेलुकीपछि वर्षा केही कम हुने अनुमान छ । यद्यपि हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ ।


अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । साथै नेपालको दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसममा प्रभाव पारिरहेको विभागले उल्लेख गरेको छ ।


विभागका अनुसार सुदूरपश्चिममा पूर्ण बदली रहेको छ भने कोशी र कर्णालीका साथै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र हिमाली भू–भागमा सामान्य बदली रहेको छ । देशका पहाडी र तराई क्षेत्रका केही ठाउँमा आंशिक बदली देखिएको छ । सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।


भोलिको मौसम


कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै ठाउँमा वर्षा हुन सक्छ । राति यी प्रदेशमा बदली रहने र केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने अनुमान छ ।


बुधवारको मौसम


कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ । ती क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्छ ।


विभागले हुरीबतास, चट्याङ र सम्भावित ठूलो वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया