.

यस वर्षको मनसुनबाट दुई लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आकलन

यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो । 

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ । यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम हुने सम्भावना छ । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले  मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना  स्वीकृत गरेको छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ । 

यसले विपत् हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ । साथै, विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत भएको छ । 

बैठकले निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१ मा केही संशोधन गरेको छ । यसै गरी, भूकम्पीय पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया