.

फिफा विश्वकप छनोट अन्तर्गत नेपालले आज यूएईको सामना गर्दै

२४ जेठ, विराटनगर । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्दैछ ।
समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।
एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो । दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ ।
उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ । यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ । यूएईका प्रशिक्षक पाउलो बेन्टोले पनि आफ्नो लक्ष्य पूरा भइसकेको बताउँदै नेपालविरुद्ध जितकै लागि खेल्ने बताए । 
यस्तै नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन्  नेपालले समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।
नेपालले यूएईसँग खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले यूएईसँग दुई पटक खेल्दा दुवै पटक पराजित भएको छ ।
विश्वकप छनोटको पछिल्लो चार वटै खेलमा गोल गर्न नसकेको नेपाली टोली अहिले गोल गर्न पनि संघर्षरत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया