विराटनगर ,२४ कात्तिक । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ ।
सरकारले भूकम्पमा परि ज्यान गुमाएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ ।
सानीभेरीमा भूकम्पमा परि १० जनाले ज्यान गुमाएका थिए । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।
भूकम्पमा परेर पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको थियो ।
यसैबीच, जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो ।
ज्यान गुमाएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।
यस्तै, प्रभावित क्षेत्रमा भोलि वर्षा र हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने हुँदा पीडितहरुलाई थप समस्या पर्ने भएको छ । धेरैजसो भूकम्प पीडित अहिले पनि खुला क्षेत्रमा बस्दै आएका छन् । जसले गर्दा उनीहरु बिरामी पर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?